
प्रगति यात्राको दोस्रो चरणमा भारतको मुजफ्फरपुर पुगेका बिहारका मुख्यमन्त्री नीतिश कुमारले आफू दुईपटक यताउता गएको अब भने कतै नजाने कुरा दोहोर्याएका छन् ।
त्यसको एक दिनअगाडि शनिबार गोपालगन्जको प्रगति यात्रामा पनि उनले यस्तै भनेका थिए ।
वास्तवमा लालु यादवको बयानपछि बिहारमा नीतिश कुमारलाई लिएर धेरै अड्कल चलिरहेका छन् । लालु यादवले एक टेलिभिजन च्यानलको कार्यक्रममा नीतिश कुमारका लागि आफ्नो ढोका खुला रहेको बताएका थिए ।
तर, उनको भनाइप्रति तेजस्वी यादवले फरक प्रतिक्रिया दिएका छन् । लालु यादवलाई नीतिश कुमारको बारेमा बारम्बार प्रश्न गरिन्छ, त्यसैले यस्तो प्रतिक्रिया दिएको उनले बताए ।
मुख्यमन्त्री नीतिश कुमार प्रगति यात्राको दोस्रो चरणमा आइतबार मुजफ्फरपुर जिल्ला पुगेका छन् । जहाँ उनले ४५१ करोड ४० लाख रुपैयाँको ७६ वटा योजनाको उद्घाटन गरेको बीबीसीले समाचारमा जनाएको छ ।