
भोजपुरको इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा साल्पासिलिछो गाउँपालिकामा आवतजावतमा कठिनाइ भएको छ ।
यही साउन १६ गतेको बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन कष्टकर भएको हो ।
बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिनभयो । बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको उहाँको बताउनुभयो । बढीबाट पाँच करोड बराबरको क्षति भएको उहाँको अनुमान छ ।
गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने तीनवटै सडकका सबै नाका बन्द भएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने उहाँको भनाइ छ ।
बाटो बनाउन १० करोड लाग्ने उहाँको अनुमान छ । क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नु बाहेक अन्य विकल्प आफूहरूसँग नभएको पनि उहाँले बताउनुभयो ।
बढीले वडा नं १ गौडेनी पुलमा एक करोड ५० लाख, वडा नं ३ मा इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा एक करोड, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा एक करोड र भमला ढाँडगाउँ पुलमा १० लाख रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, वडा नं ४ मा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा ४० लाख रुपैयाँ बढीको क्षति भएको जनाइएको छ ।