
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका- १६ स्थित देवचुली माध्यमिक विद्यालयले विद्यार्थीलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरेको छ ।
तालिम लिएपछि अहिले विद्यार्थी फुर्सदमा बाजा बजाएर आम्दानी गर्न थालेका छन् । दुई महिनाअघि विद्यालयले कक्षा ६ देखि ९ सम्मका बाजा बजाउन इच्छुक ११ जना विद्यार्थीलाई तालिम प्रदान गरेको थियो ।
शिक्षालाई सीपसँग जोड्ने योजनाअनुसार विद्यालयका विद्यार्थीलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोपराज कोइरालाले जानकारी दिए । देवचुली नगरपालिकाको समन्वयमा विद्यार्थीलाई तालिम प्रदान गरिएको उनले बताए ।
पञ्चेबाजा तालिमले शिक्षासँगै सीपलाई जोड्ने र सङ्कटमा रहेको पञ्चेबाजाको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुग्ने अध्यक्ष कोइरालाको भनाइ छ ।
पञ्चेबाजा बजाउने तालिममा सहभागी १० वर्षीय विद्यार्थी होम थापाले बाजा बजाउन सिकेसँगै गाउँमा भएका तीन वटा कार्यक्रममा पञ्चेबाजा बजाएर आम्दानी गरेको बताए ।
ढोलक, सनही र नरसिंहा बाजा बजाउन सिकेका थापाले भविष्यमा संस्कृति संरक्षणसँगै व्यावसायिक रूपमा यसलाई निरन्तरता दिने पनि बताए ।
पहिलो चरणमा केही विद्यार्थीलाई मात्रै तालिम प्रदान गरिएको बताउँदै अध्यक्ष कोइरालाले क्रमशः अन्य विद्यार्थीको आवश्यकता र इच्छाअनुसार तालिम प्रदान गरिने पनि जानकारी दिए ।