लस एन्जलस, माघ १ :

लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार रातिसम्म २४ पुगेको अधिकारीहरूले बताएका छन् ।

विस्तथापितको सङ्ख्या करिब एक लाखको हाराहारीमा रहेको छ । यस पहिले करिब एक लाख ८० हजारभन्दा बढी व्यक्ति विस्थापित भएकोमा कम जोखिम रहेका क्षेत्रमा मानिसहरू फर्किसकेका छन् । 

आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका दशौँ हजार मानिस कम्तीमा चार दिनसम्म घर फर्कन नसक्ने अधिकारीहरूले बताएका छन् ।

पलिसेड्स फायर र इटन फायरको बीचमा बन्द गरिएको खतरा क्षेत्रमा प्रवेश गर्ने आशामा निराश विस्थापितहरूले चेकप्वाइन्टहरूमा लाइनहरू बनाएका छन् ।

केही क्षणको सूचना पाएर औषधि तथा लुगाफाटा मात्रै लिएर बाहिरिएकाहरू चाँडो घर फर्कन आतुर रहेको जनाइएको छ । 

कतिपय घरमा छुटेका वृद्ध तथा अशक्त परिवारका सदस्यको अवस्थाबारे जानकारी पाउन उनीहरू उत्सुक छन् । 

लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले भने, “यस हप्ता हावाहुरीको पूर्वानुमानले आगलागीको आपतकालीन अवस्था अझै सकिएको छैन ।”

उनले पत्रकार सम्मेलनमा वस्तीहरू अझै सुरक्षित नभएकाले तत्काल घर जानसक्ने अवस्था नरहेको उल्लेख गर्दै जतिसक्दो चाँडो उनीहरूको घरमा फिर्ता लैजानु आफुहरुको सामूहिक प्राथमिकता भएको बताए ।

बुधबारसम्म चल्ने तीव्र बतासलाई सङ्केत गर्दै उनले बिहीबार पुनरुत्थानको बारेमा कुरा सुरु गर्ने बताए ।

अग्निनियन्त्रकहरूले अझै पनि हुरी लाग्न सक्ने र आगो फैलिन सक्नेबारे चिन्ता व्यक्त गरेका छन् । 

लस एन्जलस सिटी काउन्सिलर ट्रेसी पार्कले प्रभावितको पीडा आफूले बुझेको तर अवस्था निकै खतरनाक रहेको बताएका छन् । 

गत हप्ता एक लाख ८० हजारको हाराहारीमा रहेका अग्नि नियन्त्रक क्षेत्रमा करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आदेश दिइएको छ ।

डढेलोको चपेटामा परेका क्षेत्रहरू तहसनहस भएका छन् । पूरै सडकहरू खरानीमय बनेको र पूर्वाधारहरू नराम्ररी ध्वस्त भएको लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले बताएका छन् । -एएफपी