काठमाडौं, माघ ४ :

बलिउड अभिनेता सैफ अली खानमाथि हिजो (बुधबार) राति चक्कु आक्रमण भएको छ ।

प्रहरी अधिकारी दीक्षित गोडमले बीबीसीलाई भने, ‘एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा पसे । यसपछि सैफ र ती व्यक्तिबीच झगडा भयो । यसमा अभिनेता घाइते भए र उनको उपचार भइरहेको छ । अनुसन्धान जारी छ ।’

भारतीय समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत गर्दै भनेको छ कि- एक व्यक्ति सैफ अली खानको घरमा पसे र पहिले उनको घरेलु कामदारसँग झगडा गरे । तर, जब सैफ अली खानले हस्तक्षेप गर्न खोजे, घुसपैठ गर्नेले उनीमाथि आक्रमण गरे ।

सैफ र करिनाको टिमले के भन्यो ?
सैफ अली खानको टोलीका तर्फबाट जारी गरिएको विज्ञप्तिमा उनको घरमा चोरीको प्रयास भएको भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सैफ अली खानको घरमा चोरीको प्रयास भएको थियो । उनी हाल अस्पतालमा छन् र शल्यक्रिया भइरहेको छ । हामी मिडिया र फ्यानहरूलाई धैर्य गर्न अनुरोध गर्दछौं । यो प्रहरीको मामिला हो । यसबारे थप जानकारी हामी तपाईंहरुलाई गराइरहनेछौं ।’

यसैबीच, करिना कपुरको पीआर एजेन्सीले पनि हिजो (बुधबार) राति उनको र सैफको घरमा चोरीको प्रयास भएको जानकारी दिएको छ । सैफको हातमा चोट लागेको छ र उनी अस्पतालमा छन् । परिवारका बाँकी सदस्यहरू एकदमै ठीक छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी मिडिया र प्रशंसकहरूलाई धैर्य राख्न र अनुमान नगर्न अनुरोध गर्दछौं किनकि प्रहरीले पहिले नै यस विषयमा अनुसन्धान गरिरहेको छ। तपाईंको चिन्ताको लागि धन्यवाद ।’

अस्पतालले के भन्यो ?
अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार, बिहान करिब साढे २ बजे सैफ अली खान र उनकी श्रीमती करिना कपूरको बान्द्रास्थित घरमा चोर पसेको थियो । यस समयमा सैफ अली खान आफ्नो परिवारसँग घरमै थिए ।

प्रतिवेदनमा चोर घटनास्थलबाट भागेको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उल्लेख छ ।

उक्त रिपोर्टमा घटनाबारे एक वरिष्ठ आईपीएस अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ‘सैफ अली खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ ।’

यसैबीच, लीलावती अस्पतालका सीओओ डा. नीरज उत्तमनीले भने, ‘सैफमाथि उनको घरमा एक अज्ञात व्यक्तिले आक्रमण गरेको थियो । उनलाई दिउँसो ३:३० बजेतिर लीलावती अस्पताल ल्याइएको थियो ।’

‘सैफ अली खानलाई बान्द्रास्थित उनको निवासमा अज्ञात व्यक्तिहरूले आक्रमण गरे र बिहान साढे ३ बजे अस्पताल ल्याइयो ।’

सीओओ उत्तमनीका अनुसार सैफलाई ६ ठाउँमा चोट लागेको छ । उनले भने, ‘जसमध्ये दुई गहिरो छन् । एउटा गहिरो चोट उनको मेरुदण्डनजिकै छ । न्यूरोसर्जन डा. नीतिन डांगे, कस्मेटिक सर्जन डा. लीना जैन र एनेस्थेसियोलोजिस्ट डा. निशा गान्धीको टोलीले उनको शल्यक्रिया गरिरहेको छ ।’ -बीबीसी