साउन २९ :

कर्णालीको जुम्ला र कालिकोट खण्डमा निरन्तर पहिरो गइरहेकोले राजमार्गमा बर्खाको समयमा समस्या भएको छ ।

साउन महिनामा मात्रै कर्णाली राजमार्गमा करिब दर्जन बढी स्थानमा पहिरो गएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । राजमार्गमा निरन्तर आएको पहिरोले आवागमनमा समस्या भएको हो । 

असार र साउन महिनामा कतै ठुलो पहिरो त कतै सानो पहिरो आएका कारण समस्या भएको हो । कर्णाली राजमार्ग अन्तरगत मोल्फा र चौखोलामा ठुलो पहिरो गएको छ । सडक सुचारु गर्न गाल्जेबाट एक्स्काभेटर पठाउने तयारी भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले बताएको छ ।

सडक डिभिजनले जारी गरेको सूचना अनुसार कालिकोटको पिलि कल्यान खोलामा अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालन भइसकेको छ भने कालिकोटको चौखोला र मोल्फामा समेत पहिरो आई सडक अवरुद्ध भएको जानकारी दिएको छ । 

सडक डिभिजनका अनुसार अविरल वर्षाको कारण कालिकोटको पिलि कल्यान खोला र मोल्फामा पहिरो आई सडक अवरुद्ध भएकाले सो स्थानमा सडक सुचारु गर्नको लागि यस डिभिजनको व्याकहोल लोडर परिचालन भई जानकारी दिएको छ । 

निरन्तर पहिरो गइरहेका कारण यात्रुहरूलाई सावधानी अपनाएर यात्रा गर्न अनुरोध पनि गरिएको छ ।