
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसर पारेर ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरुबीच काठमाडौंमा तीनदिने छलफल हुने भएको छ । वैकल्पिक ऊर्जा विकास समितिको १०३ औं बैठकले यही माघ १३ गतेदेखि १५ गतेसम्म तीन दिने कार्यक्रम गर्ने निर्णय गरेको हो ।
जस अनुसार पहिलो दिन माघ १३ गते यस क्षेत्रसँग सम्बन्धित समस्या, चुनौति तथा अवसरहरुको बारेमा छलफल हुनेछ। यस्तै, दोस्रो दिन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रको अवस्थाबारे विकास साझेदारहरुसँग बैठक हुने भएको छ ।
यस्तै तेस्रो दिन माघ १५ गते उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धमा सरोकारवालाहरुबीच अनुभव आदान प्रदान, लगानीको अवसरबारे अन्तर्क्रिया एवं आवश्यक रणनीति तर्जुमाको लागि विभिन्न प्रस्तुतिहरु तथा छलफल हुने सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रममा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनको क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ३५० भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।
सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’को रुपमा मनाउने घोषणा गरिए बमोजिम यो विश्वभर विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।
सबैमा विद्युत पहुँच पुयाउन तथा दिगो विकास लक्ष्यले लिएका नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता तथा जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्यहरु हासिल गर्ने सरकारको प्राथमिकतामा केन्द्रको योगदान रहँदै आएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रही नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा कार्य गर्ने प्रमुख निकायको रुपमा रहेको छ ।