
हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेसँगै यसको लाइनअपलाई लिएर चर्चा भइरहेको छ ।
निर्देशक पौडेलको यो चलचित्रमा को-को कलाकार छन् भन्ने कुराको कौतुहल सिनेमा वृत्त र चलचित्रका शुभेच्छुकमा कुतूहल छ ।
निर्देशक सरोजका अनुसार चलचित्रका मुख्य कलाकारको लाइनअप पूरा भएको छ । सुरक्षा पन्त र आर्यन सिक्देलसँगै नीति शाह र प्रवीण खतिवडा अनुबन्ध भइसकेका छन् ।
थिम पोस्टरले पनि ‘कोसेढुंगा’ मा महिला चरित्रले सिनेमा लिड गर्ने संकेत गरिसकेको थियो । तर, को हो त्यो भने निर्देशक पौडेल खुलाएका छैनन् ।
सरोजले निर्देशन गरेको ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ५० करोड ग्रसकलेक्सन गरिसकेको छ ।
‘कोसेढुंगा’ सोसल ड्रामा हो । अभाव, अग्लो सपना र संघर्षको कथा चलचित्रले भन्ने संकेत थिम पोस्टरले गरेको छ ।
‘सिनेमा कस्तो हुने, कथा के हो, कलाकार को-को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ,’ निर्देशक पौडेलले भने, ‘तर हामी यति भन्छौँ, पूर्णबहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ ।’
‘पूर्णबहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले यो चलचित्र प्रतिक्षित हुनेछ । त्यसैले उनै निर्देशकले बनाउने ‘कोसेढुंगा’ पनि सफल हुनेमा अपेक्षा राख्न सकिन्छ ।
फागुन २ गतेदेखि छायांकन हुने चलचित्र २०८२ मा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता छन् ।
बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।
कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् । चलचित्रको छायांकनअगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । अन्तर्राष्ट्रिय वितरण ‘सेभेन सिज इन्टरनेसनल’ कम्पनीले खरिद गरेको छ ।