बारा, साउन ३० :

विशाक्त खाना (फुड पोइजनिङ)का कारण बाराको सिम्रौनगढ नगरपालिका-७ झवानी टोलका तीन बालबालिकाको मृत्यु भएको छ । 

फुड पोइजनिङका कारण नरेश रामका सात वर्षीया लालिमा, सात वर्षीया पुष्पा र पाँच वर्षीय रामनन्दन रामको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

आइतबार बेलुका माछा र भात खाएर सुतेका तीन बालबालिकाको फुड पोइजनिङकै कारणले मृत्यु भएको हुनसक्ने आशंका गरिएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईले जानकारी दिनुभयो ।

परिवारका सबै सदस्यले एउटै चुलोमा पकाएको खाना खाए पनि बालबालिकामा मात्रै फुड पोइजनिङको समस्या देखिएको उहाँले बताउनुभयो ।

माछासहितको खानाको कारणले नै मृत्यु भएको हो या होइन भन्ने कुरा अहिलेसम्म नखुलेको पनि उहाँले बताउनुभयो ।

बालबालिकाको स्वास्थ्यमा समस्या देखिएसँगै परिवारका सदस्यहरुले सिम्रौनगढस्थित रामबाबुको पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याएका थिए। पोलिक्लिनिकले उपचार सम्भव नभएको बताएपछि बाराको प्रादेशिक अस्पताल कलैया पुर्‍याइएको थियो ।

तीन बालबालिकामध्ये एकजना सिकिस्त भएकाले प्रादेशिक अस्पताल कलैया पुर्‍याउने क्रममा नै मृत्यु भएको बताइएको छ ।

प्रादेशिक अस्पतालले अन्य दुई बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर देखिए पनि नेसनल मेडिकल कलेज वीरगञ्जमा रेफर गरेको थियो, अन्य दुई बालबालिकाको पनि नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राईले बताउनुभयो । मृतकका बुबा नरेश राम रोजगारीका लागि भारतको पञ्जाव राज्यमा रहेको जनाइएको छ ।