
हलेसी तुवाचुङ नगरपालिकाले उद्यमी बन्न चाहने स्थानीयलाई बिना ब्याज ऋण दिने भएको छ ।
कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालन लगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले पाँच लाखसम्म बिनाब्याज ऋण दिने व्यवस्था मिलाएको हो ।
नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ ।
नगरपालिकाको सिफारिसको आधारमा बैंकले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिनाब्याज ऋण दिने सम्झौतामा उल्लेख छ ।
नगरपालिकाभित्र खोलिएका लघु उद्योगको प्रवर्द्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टेलगायत व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइदिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताइन् ।
उद्यमीले बैंकबाट लिएको पाँच लाखसम्मको ऋणको ब्याज तीन वर्षसम्म नगरपालिकाले तिरिदिन्छ । यसले लगानी अभावमा उद्यमी बन्न नपाएका नागरिकलाई सहज हुने उनको भनाइ छ ।
उद्यम गर्न चाहने स्थानीय नागरिकले बिनाब्याजको ऋण लिनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने नगरपालिकाले बनाएको कार्यविधिमा उल्लेख छ ।
वडा- वडामा सङ्कलन भएको निवेदनलाई समेटेर नगरपालिकाले बैँकलाई सिफारिस गरेपछि उद्यम गर्न चाहने नागरिकले ऋण पाउने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।