
मोरङ बेलबारी नगरपालिका ९, डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् ।
स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका खवास दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत पढाएका छन् । चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुंगो त हुँदैन, तर औसतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ ।
आजकल ३० लिटर दूधको चिया बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक कम्तीमा ५० हजार आम्दानी हुन्छ । २५ वर्षअघि पसल सुरु गर्दा दुई रुपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ । त्यसबेला प्रतिलिटर १३ रुपैयाँमा किनेको दूध अहिले ८० पर्ने उनी बताउँछिन् ।
‘त्यस समयमा जमिन सस्तो थियो, त्यही भएर नाफाले अलिअलि गर्दै एक बिघा जमिन जोड्न सफल भयौँ । त्यसबेला चिया दुई किसिमको बनाउनुपर्थ्यो, ‘लोकल’ अनि ‘स्पेसल’, लोकलमा पानी मिसाइन्थ्यो भने स्पेसलमा दूध मात्रैको हुन्थ्यो,’ उनले भनिन् ।
त्यसबेला लोकल चिया प्रतिकप दुई र स्पेसल तीन रूपैयाँमा बिक्री हुन्थ्यो । छोराछोरीलाई काखैमा राखेर चिया बेचेको उनी सम्झन्छिन् । पसलकै कमाइले दुई छोराछोरी उच्च शिक्षासम्म पढाएको स्वामकुमारीका श्रीमान् सर्गे खवास बताउँछन् ।
कुनै पनि व्यवसाय इमानदारीपूर्वक र निरन्तर गरिरहने हो भने एक दिन अवश्य सफलता मिल्ने रहेछ स्वामकुमारीले बताइन् ।
‘त्यसबेला जंगल गएर दाउरा ल्याइन्थ्यो, दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो, अहिले ग्यास चुलोको प्रयोग गर्छौं,' उनले भनिन् ।
चिया पिउन गाउँका नेतादेखि समाजसेवीहरू उनकै पसलमा आउँछन् । चिया पिउँदै समाज र राजनीतिबारे गफ गर्छन् । त्यसबाट आफूले पनि गाउँ र समाजबारे सूचनाहरू थाहा पाउने स्वामकुमारी बताउँछिन् ।
‘चिया व्यापार अब आदत बनिसक्यो । शरीररले साथ नछाडुन्जेल यही गरिन्छ,’ उनले भनिन् ।
स्थानीय बलिराम राजवंशी ७६ वर्षका भए । उनी आधा घण्टा हिँड्दै स्वामकुमारीको चिया पसल पुग्छन् ।
‘वर्षौँदेखि उक्त होटेलमा चिया खाने बानी परेकाले बूढो भए पनि घरको चियाले धित मर्दैन,’ उनी भन्छन्, ‘बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु ।’
त्यसबेला दुई आना कप चिया रहेको याद छ । बुबासँगै आएर चिया खाने बानी परेको राजवंशी बताउँछन् । -रासस