नवलपरासी, साउन ३१ :

पूर्व - पश्चिम राजमाार्ग अन्तर्गत नारायणघाट - बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । 

हिजो दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर लेदोसहितको पहिरो झरेपछि बिहान ४:४५ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बाटो एकतर्फी भए पनि सञ्चालनका लागि प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वेदबहादुर पौडेलले जानकारी दिनुभयो । सोमबार साँझ ५ बजे सडक भासिएर एकतर्फी सञ्चालन भए पनि सडक थप भासिएपछि मङ्गलबार बिहान ८:३० बजेदेखि पूर्णरुपमा यातायात अवरुद्ध भएको थियो ।