काठमाडौं, माघ १४ :

कोशी प्रदेश सरकारले केबलकार निर्माण पक्ष र संघर्षरत पक्षलाई समस्या समाधानका लागि वार्तामा बोलाएको छ । 

प्रदेशसभा बैठकमा सांसदहरूले ताप्लेजुङ घटनामा सरकारको जवाफ मागेपछि आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले दुबै पक्षलाई वार्तामा बोलाइएकोबारे जानकारी गराएका हुन् । 

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना संयोजक, भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुनमन्त्री सदस्य रहेको वार्ता समिति बनाइएको छ ।
प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर जान केबलकार निर्माण सुरु भए देखिनै स्थानीयवासीले विरोध गर्न थालेका हुन् । स्थानीयवासीको विरोध प्रदर्शन चर्कँदै गएपछि प्रहरीसँग झडपमा परिणत भएको छ । झडपमा दुबै तर्फ गरी थुप्रै घाइते भएका छन् । सिकिस्त घाइते भएका ३ आन्दोलनकारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

यामबहादुर लिम्बू , सगुन लावती र धर्मान पालुङ्वालाई काठमाडौं ल्याइएको हो । प्रहरीले चलाएको गोली लागेर लिम्बू र लावती घाइते भएका हुन् भने पालुङ्वा भिरबाट लडेका थिए । प्रहरीतर्फ पनि १९ जना घाइते भएका छन् । आन्दोलनकारीले माथिबाट ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो ।