
विद्रोहीहरूका कारण हजारौं मानिस कंगोबाट पलायन भइरहेका छन् । गेट्टी इमेज
एम-२३ विद्रोहीहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोको दक्षिणमा रहेको गोमा सहर कब्जामा लिएका छन् ।
स्थानीय बासिन्दाहरूले जारी गरेका भिडियोहरूमा कंगोली सेनामाथि कब्जा जमाएर गोमा सहरका मुख्य सडकहरूमा एम-२३ विद्रोहीहरूले गस्ती गरिरहेको देख्न सकिन्छ । जसका कारण १० हजारभन्दा बढी मानिस नजिकैका सहरहरूमा भागेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार घण्टौंसम्म गोलीबारी र विस्फोटपछि अब लाखौं जनसंख्या भएको गोमा सहरका सडकहरू सुनसान बनेका छन् ।
प्रजातान्त्रिक गणतन्त्र कंगोका विदेशमन्त्रीले एम-२३ विद्रोहीहरूलाई समर्थन गर्न सीमामा सेना पठाएर रुवान्डाले युद्ध भड्काएको आरोप लगाएका छन् ।
प्रत्युत्तरमा रुवान्डाले भनेको छ कि- कंगोले रुवान्डामा शासन परिवर्तन गर्न चाहने सशस्त्र समूहहरूलाई समर्थन गर्दछ ।
केन्याले युद्धविरामका लागि आह्वान गरेको छ । कंगो र रुवान्डाले आगामी दुई दिनमा क्षेत्रीय आपतकालीन शिखर सम्मेलनमा भाग लिने घोषणा गरेका छन् । केन्याका राष्ट्रपति विलियम रुटो हाल पूर्वी अफ्रिका समुदायका अध्यक्ष छन् ।
२०२१ देखि कंगोको ठुलो क्षेत्र विद्रोही समूह एम-२३ को नियन्त्रणमा छ । -बीबीसी