
बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ ।
क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।
कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताए ।
उनका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएको उनको भनाइ छ । जिल्लामा प्रतिकेजी एक हजार २५० का दरले अलैँची बिक्री भएको छ ।
चालु आर्थिक वर्षमा पनि कृषकले कात्तिक महिनामै अलैँची बेचिसकेको भएपनि कतिको कारोबार भयो भनेर यकिन तथ्याङ्क सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
बाली संरक्षण अधिकृत तथा ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले हाल जिल्लाको एक सय ४० हेक्टर जमिनमा अलैँचीखेती विस्तार भएको र जसमध्ये ९६ हेक्टरमा लगाएको अलैँचीले उत्पादन दिन थालेको जानकारी दिए ।
बागलुङका १० स्थानीय तहमध्ये आठ स्थानीय तहलाई समेटेर ‘अलैँचीजोन’ निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा जोन स्थापनाको कार्यक्रम स्वीकृत भएर कार्यान्वयन प्रारम्भ भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले बताए ।
ताराखोला काठेखोला, बडिगाड गाउँपालिका, बरेङ र निसीखोला गाउँपालिका तथा बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका विभिन्न स्थानमा अलैँची उत्पादन हुँदै आएको छ ।
अलैँचीखेतीको राम्रो व्यवस्थापन गर्न सके एकपटक रोपेपछि १० वर्षसम्म पनि उत्पादन दिने गरेको छ । कृषकले उत्पादन गरेको अलैँची गुणस्तर विभाजन गरेर फरक फरक मूल्यमा बिक्री गर्ने गरिएको छ ।