
राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एन्ड बेबी एक्स्पो २०२५’ सुरु भएको छ । बालबच्चा तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउन एक्स्पो आयोजना गरिएको हो ।
अभिनेत्री प्रियंका कार्की र उनकी छोरी आयांकाले संयुक्त रुपमा एक्स्पोको बुधबार उद्घाटन गरेका हुन् । ‘वान स्टप सोलुसन फर फेमिली एन्ड बेबी रिलेटेड प्रोडक्ट्स एन्ड सर्भिसेज’ भन्ने स्लोगानका साथ इभेन्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको एक्स्पोमा बालबच्चाका लागि आवश्यक सबै सामान तथा सेवा एकै छानामुनि उपलब्ध गराइएको छ ।
नि:शुल्क प्रवेश गर्न सकिने एक्स्पोमा बालबालिकाहरुले मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफी एक्टिभिटिजमा सहभागी हुन सक्छन् । फोटो बुथ तथा ३६० डिग्री क्यामेरा आकर्षणका रुपमा रहने एक्स्पोमा ट्रिजर हन्ट, स्पिन द हि्वल, स्काउट गेम तथा डान्समा बालबच्चा रमाउन सक्छन् ।
अभिभावकहरुले आफ्ना बालबच्चालाई सक्रिय बनाउन तथा फरक वातावरणमा घुलमिल गराउन एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । बेलुन पपअप, म्युजिकल चियर, चम्चा दौड, फेस पेन्टिङ तथा ड्रइङ, पानीपुरी तथा पपकर्न खाने प्रतियोगिता एक्स्पोको आकर्षणका रुपमा छन् ।
एक्स्पोका विभिन्न क्रियाकलापमा सहभागी हुनेहरुलाई दैनिक रुपमा गोलाप्रथाबाट उपहार प्रदान गरिने इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए ।
एक्स्पोमा आउने बालबालिका तथा अभिभावकको सहजताका लागि एक्स्पोस्थलमा ब्रेस्ट फिडिङ बुथ, चेन्जिङ बुथलगायत अत्यावश्यक सेवा समावेश गरिएको प्रधानले बताए । उनका अनुसार एक्स्पो अवलोकनकर्ताहरुले यस्ता सेवा प्रभावकारी भएको र अभिभावकलाई एक्स्पोमा आउँदा कुनै समस्या नहुने प्रतिक्रिया दिएका छन् ।
बालबालिका तथा अभिभावकलाई लक्षित गरी विभिन्न किसिमका जानकारीमूलक सेसनहरु पनि सञ्चालन हुने एक्स्पोमा आमाबाबु र परिवारसम्बन्धी जानकारी प्रदान गरिनेछ भने महिला तथा बालबालिकामा हुने क्यान्सर तथा अटिजम र आईभीएफबारे जानकारी दिने सेसनहरु पनि सञ्चालन हुनेछन् ।
एक्स्पोमा जादु तथा सांगीतिक मनोरञ्जनात्मक प्रदर्शनीहरु पनि सञ्चालन हुनेछन् । यसका अलावा बालबच्चाका लागि आवश्यक पर्ने सबै किसिमका वस्तु तथा सेवा सुपथ मूल्यमा खरिद गर्न सकिने प्रधानले जनाए । माघ १९ गते शनिबार समापन हुने एक्स्पोको क्लोजिङ सेसनमा ‘टिम कार्टुन’ को विशेष प्रस्तुति रहनेछ ।
एक्स्पोले अभिभावकलाई आफ्ना बालबालिकाको क्षमता परीक्षण गर्ने उचित गन्तव्य बन्ने आयोजकको अपेक्षा छ । बजारमा भौंतारिएर वस्तु तथा सेवाका साथै मनोरञ्जनका साधनको खोजी गर्नुपर्ने अभिभावकको बाध्यतालाई पनि एक्स्पोले समाधान गर्ने आयोजकको विश्वास छ । बालबच्चा तथा अभिभावक गरी २५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
s