
प्यालेस्टिनी समूह हमासले शनिबार थप तीनजना बन्धक रिहा गरेको छ ।तीनै जनालाई गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता अनुसार रिहा गरिएको हो ।
३४ वर्षीय यार्देन बिवास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोनलाई खान युनिसबाट रिहा गरिएको हो । त्यस्तै, ६५ वर्षीय किइथ सिगललाई गाजासिटीबाट रिहा गरिएको हो ।
त्यसको बदलामा इजरायलले १ सय ८३ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ। इजरायलले शनिवार छाड्ने ७० जना आजिवन वा लामो अवधिको कारावास सजाय तोकिएका व्यक्तिहरू भएको जनाइएको छ ।
प्रत्येक पटक छाडिने बन्धकहरुको सूचीलाई नेपालले चासोका साथ हेर्ने गरेको छ । हमासले बन्दी बनाएर राखेकोमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेका छन् । दुई पक्षबीच सम्झौता भएयता शनिबार चौथो चरणमा बन्धकहरू छाडिएको हो ।
हमासले सन् २०२३ को अक्टुबर ७ मा इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको मृत्यु भएको थियो भने २ सय ५१ जनालाई बन्धक बनाएर राखेको थियो।