काठमाडौँ, साउन ३२ :

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विशेष किसिमको सहुलियत दिने जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको कार्ययोजनामा ती विमानस्थलमा बिक्री गरिने हवाई इन्धनको मूल्यमा समेत पुनर्विचार गर्ने निर्णय गरेको हो।

कार्ययोजनालाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको सचिव श्रेष्ठले जानकारी दिनुभयो।

कार्ययोजनाले पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान प्रोत्साहित गर्नका लागि टिकट शुल्कमा लाग्ने गरेको मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य कतिपय सेवा शुल्कहरू तत्कालका लागि नलिने निर्णय गरेको छ।

भ्याट नजोडिदा टिकटको मूल्य घट्ने भएकाले त्यसले पर्यटकसहित अन्य यात्रुलाई समेत आकर्षित गर्न सक्ने र हवाई इन्धनको मूल्य पनि काठमाडौँको तुलनामा कम गर्नेबारे तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बताउनुभयो ।

त्यसबाहेक पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणले लिने शुल्क समेत नलगाउने गरि छलफल भइरहेको जनाइएको छ ।

सरकारले आगामी नोभेम्बर ८ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि रातिको समयमा उडानहरू बन्द गर्ने तयारी गरेको छ । पोखरा र भैरहवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले दिन लागेको सहुलियत कदमले केही वायुसेवाहरूलाई उडान गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

भैरहवाको विमानस्थलमा केही समय तालिकाबद्ध अन्तर्राष्ट्रिय उडान भए पनि त्यो नियमित हुन सकेको छैन। 

उड्डयन मन्त्री पाण्डेले वायुसेवा कम्पनीहरूको सुझावलाई ध्यान दिएर २०८३ भदौसम्म लागु हुने गरी दुबै विमानस्थलमा नियमित उडानको व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिनुभयो ।