काठमाडौं, माघ २४ :

अमेरिकाले भारतीय आप्रवासीहरुलाई फिर्ता पठाउन सुरु गरेको छ । 

जस अनुसार अमेरिकामा कागजात नभएका भारतीयहरूलाई बोकेर आएको अमेरिकी सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी सेनाको विमानबाट १ सय १६ आप्रवासी भारत आइपुगेका छन् । तीमध्ये २५ महिला र १२ बालबालिका रहेका जनाइएको छ ।

बुधबार भारत ल्याइएका आप्रवासीहरू पञ्जाव, गुजरात, हरियाणा, उत्तर प्रदेश र महाराष्ट्र प्रदेशका रहेका जनाइएको छ । तीमध्ये सबैभन्दा बढी ३३ जना गुजरातका छन् । पञ्जाबका ३२ जना रहेका जनाइएको छ । अन्य आप्रवासी उत्तर प्रदेश र महाराष्ट्रका भएका इन्डियन एक्सप्रेसले जनाएको छ ।

ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि त्यहाँ बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलो पटक हो।

बीबीसी अनुसार अमृतसरका वासिन्दालाई प्रहरीको गाडीमा राखेर सम्बन्धित ठाउँमा लगिनेछ भने बाँकी राज्यहरूका मानिसहरूलाई उडानबाट पठाइनेछ। ट्रम्पले राष्ट्रपतिको पद सम्हालसँगै अमेरिकाले  गैरकानुनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता गर्ने कार्य तीव्र पारेको छ ।

 मिडियालाई विमानस्थलमा प्रवेश गर्न अनुमति दिइएको छैन  ।