काठमाडौँ, भदौ १ :

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ७५ जनाको मृत्यु भएको छ ।

प्रहरीले सार्वजनिक गरेको तत्थ्यांक अनुसार बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७५ जनाको मृत्यु भएको हो। 

साथै काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्‍चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २४ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ । 

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

बाढीको कारण ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ८६ वटा घर, १ सय ५ वटा गोठ, ४९ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय २० वटा पशु चौँपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ४ सय ७२ घर परिवार विस्थापित भएको प्रहरीले उल्लेख गरेको छ।