भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्ति ओखलढुंगाका पुरूष भएको पुष्टि भएको छ ।
मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका- ४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको खुलेको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
शुक्रबार बिहान मृतकका आफन्तहरू आएर शव सनाखत गरेको डिएसपी कार्कीले बताउनुभयो ।
दुर्घटनालगत्तै बिहीबार प्रहरीले मृतक महिला रहेको बताएको थियो। पछि मृतक भनिएकी महिला नै प्रहरी कार्यालयमा उपस्थित भएर परिचय खुलाएपछि प्रहरीले साँझ पुरूष रहेको स्पष्टीकरण गरेको थियो ।
काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो। ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका-२ का ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।