
काठमाडौंको शंखरापुरमा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । शंखरापुर नगरपालिका ५ मा बुधबार साँझ भएको स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा एकजनाको घटनास्थलमै र थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।चाबहिलस्थित एसएस एकेडेमीको बा.२ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस मोडबाट पल्टिँदा दुर्घटना भएको हो ।
प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल कपन बस्ने वर्ष ११ को क्रिसल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई हाल चाबहिल बस्ने वर्ष २४ को सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई हाल भिमसेनगोला बस्ने वर्ष १४ को शुशाङ्का डोटेल रहेका छन्।
नगरकोटको पिकनिक खाएर फर्किंदै गरेको दुईवटा बसमध्ये एउटा दुर्घटनामा परेको हो । दुईवटा बसमा विद्यार्थी, शिक्षक-शिक्षिका र कर्मचारी गरी ९२ जना यात्रारत थिए । घटनास्थलमा तत्काल प्रहरी र स्थानीय बासिन्दा पुगेर उद्धार गरेका छन् ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।
केही दिनअघि काठमाडौंको दक्षिणकाली नगरपालिका ३, भञ्ज्याङमा पनि स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।