
हमासले इजरायलसँगको युद्धविराम सम्झौताप्रति आफू प्रतिबद्ध रहेको जनाउँदै बन्धकहरूलाई निर्धारित तालिकाअनुसार नै रिहा गर्ने जनाएको छ ।
हमासले निर्धारित समयअनुसार नै बाँकी बन्धकहरू रिहा गर्न तयार भएको जनाएको छ । हमासको यो निर्णयले पुन: युद्ध सुरु हुने सम्भावनालाई रोक्ने अपेक्षा गरिएको छ।
मध्यस्थकर्ताले गर्दा दुई पक्षबीचको अविश्वासको खाडललाई कम गरेको र युद्धविराम सम्झौता कार्यान्वयन जारी राख्न प्रतिबद्ध रहेको जनाएका छन् । यसबारे इजरायलबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
हमासले इजरायल युद्धविरामका लागि इमानदार नभएको भन्दै बन्धकहरूको रिहाइ रोक्ने बताएको थियो । हमास प्रवक्ता अबु ओबेदाले युद्धविराम सम्झौतअनुसार इजरायलले विस्थापित प्यालेस्टिनीलाई उत्तरी गाजामा फिर्ता हुन नदिएको, स्थानीयमाथि गोली चलाएको र सहमतिअनुसार मानवीय सहायता वितरणमा अनुमति नदिएको आरोप लगाएका हुन् ।
इजरायलले शनिबारसम्म बन्धकहरूलाई रिहा नगरे युद्धविराम अन्त्य हुने चेतावनी दिएको थियो । इजरायली नागरिकहरूले गाजामा बन्धकहरूलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेका छन्।