काठमाडौँ, भदौ ३ :

गएराति आएको हावाहुरीले झापामा ठूलो क्षति पुर्‍याएको छ । 

हावाहुरीका कारण जताततै बिजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताउनुभयो । राजमार्गमा ढलेका रुखहरु राति नै जेसीबी लगाएर पन्छाइएको उहाँले बताउनुभयो । 

चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२३च ५०९३ नं को कारमा क्षति भएको उहाँले जानकारी दिनुभयो । कारमा पाँच जना सवार रहेका र सबै सकुशल रहेको उहाँको भनाइ छ ।

हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको प्रहरीले जनाएको छ ।