
भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा देवदह नगरपालिका ९ का ४५ वर्षीय गणेश खनाल, उनकी पत्नी ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गंगा शर्मा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर महेन्द्र सेनका अनुसार कुम्भ मेलाबाट फर्किंदै गर्दा यूपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी उत्तर प्रदेशको वाराणसी रोडको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइते हुनेहरुमा देवदह ९, भलुहीकी कोपिला पोखरेल, उनका छोरा शुभम् पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरुलाई थप उपचारका लागि गोरखपुर पठाइएको समाचारमा जनाइएको छ ।
गाडी चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।