बागलुङ, भदौ ३ :

हरेक वर्ष झै यस वर्ष पनि नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा जनैपूर्णिमामा मेला सुरु भएको छ । देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा गर्न भक्तजनहरु शनिबारदेखि नै ढोरपाटन पुग्न थालेका छन् । 

एक दशक अगाडिसम्म बुर्तिबाङ बजारदेखि भक्तजन हिँडेरै ढोरपाटन पुग्ने गर्थे भने अहिले सडक पुगेको छ । विसं २०७१ सालमा ढोरपाटन सडकले जोडिएपछि अहिले धेरै जसो गाडीमै जाने गर्दछन्। ढोरपाटन जोडिएको सडक राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी- ढोरपाटन सडक’मा पर्छ । रुपन्देहीको सालझण्डीदेखि नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोडिएको यो सडक एक दशक अगाडि ट्रयाक खुले पनि स्तरोन्नती नहुँदा यात्राका लागि जोखिमयुक्त भएको हो । 

बागलुङको बुर्तिबाङदेखि ढोरपाटन उपत्यकासम्मको करिब ३२ किलोमिटर सडकको अवस्था झनै खराब बनेको छ । जनैपूर्णिमाका बेला एकै दिन दसौँ हजार भक्तजन पुग्ने हुँदा सवारी साधानको चाप पनि निकै हुने गरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले जानकारी दिनुभयो ।

मनोकांक्षा पूरा हुने जनविश्वासले ढोरपाटन आउने भक्तजन बढेपनि सडकका कारण सास्ती खेप्न बाध्य बनेको उहाँको गुनासो छ । सडकको दुरावस्थाको कारण कयौँको गाडी बीच सडकमै बिग्रिने हुँदा ढोरपाटन पुग्न समस्या हुने गरेको छ । सालझण्डी-ढोरपाटन सडकको बागलुङ खण्डमा करिब ६१ किलोमिटर सडक पर्छ । 

त्यसमध्ये अहिलेसम्म कुनै पनि स्थानमा स्तरोन्नती हुन सकेको छैन । तीन वर्ष अगाडि बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतीका लागि ठेक्का लगाए पनि निर्माण कम्पनीले काम नगर्दा सडकको हालत दुरावस्थामा पुगेको छ । 

मेलामा आउने भक्तजन र पर्यटकलाई लक्षित गरि ढोरपाटन नगरपालिकाले दुई दिनदेखि मेसिन र मजदुर लगाएर सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको छ । चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीले सडकको धेरै स्थानमा क्षति पुर्‍याएको छ । ती स्थानमा अहिले सामान्य मर्मत गरेर सकसपूर्ण रुपमा सवारी साधान ओहोरदोहोर गर्छन् । 

जनैपूर्णिमालाई लक्षित गरेर ढोरपाटन जाने भक्तजनको सहजताका लागि अप्ठ्यारो ठाउँमा सडक मर्मत सम्भारको काम गरिरहेको उपप्रमुख कायतले बताउनुभयो । यो सिजनमा भक्तजनसहित बुकी चढ्न हजारौँ पर्यटक आउने हुँदा सडकको दुरावस्थाका कारण दुःख पाउने गरेको उहाँको भनाइ छ ।

उक्त सडक संघीय सरकार मातहतको आयोजना भएकाले नगरपालिकाले काम गर्न नमिल्ने भएपनि धेरै पटक बन्द हुँदा खुलाउने काम भने गर्दै आएको उपप्रमुख कायतले बताउनुभयो ।

अहिले पनि मेसिन लगाएर जनैपूर्णिमामा ढोरपाटन आउने भक्तजनलाई सहजताको लागि ठाउँ ठाउँमा सडक मर्मत गरिरहेको र केही अप्ठ्यारो नपरोस भनेर ठाउँ-ठाउँमा मेसिन ‘स्ट्याण्ड बाई’ राखेको उहाँले बताउनुभयो ।

सडकको धेरै ठाउँमा खाल्डाखुल्डी र बीचमा ठूला- ठूला ढुङ्गा हुँदा गाडी बिग्रिएर पर्यटक बीच बाटोमा अलपत्र पर्ने गरेका छन् ।

बिग्रिएको गाडी बनाउनका लागि नजिकै ग्यारेजसमेत नहुँदा कतिपय पर्यटक निरास बनेर फर्किने गरेको ढोरपाटन नगरपालिका- ९ का स्थानीय गुनबहादुर विकले बताउनुभयो। झन बर्खाले गर्दा धेरै ठाउँमा सडक बिग्रिएको हुँदा यात्रा गर्न किनै कठिन हुने गरेको बताउनुभयो । मेलाका लागि धेरै भक्तजनहरु पैदल यात्रा गरेरै ढोरपाटन जान बाध्य बनेको उहाँको भनाइ छ । रासस