गुल्मी, भदौ ३ :

गए रातिदेखि परेको अबिरल वर्षाका कारण गुल्मी तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । 

त्यसैगरी तम्घास‐ रिडी सडक अन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को रिडी खज्र्याङ् सडक र  तम्घास‐रिडी सडक अन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्र पूर्णरुपमा अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

अविरल वर्षाका कारण रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका- ६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अबरुद्ध बनेको छ । सडक अबरुद्ध बनेपछि सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐ काठमाडौँसम्म आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु बीचबाटोमै अलपत्र परेका छन् । 

सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भइरहे पनि वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

बाढीले घर बगायो
त्यसैगरी वर्षाका कारण गुल्मीको छत्रकोट गाउँपालिका- ५ दुमैमा खोलामा आएको बाढीले स्थानीय रामबहादुर बुचाको घर बगाएको छ । बुचाको दुईतले घर बगाउँदा दुईवटा बाख्रासहित १५ वटा कुखुरा मरेका छन भने एउटा स्कुटर समेत बगाइदिएको छ । उक्त घटनामा मानवीय क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ । 

हावाहुरीसहित आएको वर्षाका कारण मकैवालीमा समेत पूर्ण रुपमा क्षति पुर्‍याएको छ । 

वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आवतजावत गर्ने ३० भन्दा बढी सडकहरु अबरुद्ध बनेको जनाइएको छ । वर्षाका कारण थप जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सर्तक भइ सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ ।