काठमाडौँ, भदौ ३ :

पवित्र धार्मिकस्थल रसुवाको गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । 

ग्रामीण र दुर्गम क्षेत्रमा लगातार विद्युत् सेवा उपलब्ध गराउँदै आएको नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक गोसाइँकुण्डमा बिजुली पुर्‍याएपछि स्थानीय र तीर्थयात्रीलाई राहत पुगेको छ ।

प्राधिकरणले समुद्र सतहबाट चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा शुक्रबार साँझदेखि ग्रिडको विद्युत् पुर्‍याइएको जनाएको छ । बिजुली बत्ती पुगेसँगै गोसाइँकुण्ड क्षेत्र झिलिमिली भएको छ ।

धार्मिक एवं पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । अहिलेसम्म गोसाइँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गर्दै आएका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाइँकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको जानकारी दिनुभयो । 

गोसाइँकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । बर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभिएको ट्रान्सफर्मर राखिने प्राधिकरणले जनाएको छ । 

बर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गोसाइँकुण्डमा १५- १५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जिव भट्टराईले जानकारी दिनुभयो ।