
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा निर्माण भएका दुई वटा विमानस्थलमा नियमित उडान सञ्चालनमा आउन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ ।
वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बर्सेनि यात्रुको सङ्ख्या बढ्दै गएपछि यसको असर उडान सुरक्षा, सुरक्षित तथा सहज यात्रा र उडान सुनिश्चिततामा पर्न थालेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अहिले विमानस्थलले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप धान्दै आएको र बर्सेनि १० देखि १५ प्रतिशतसम्म हवाई यात्रुको चाप बढ्दै गएकाले यसले विमानस्थल सञ्चालन, उडान सुनिश्चितता र सुरक्षामा समेत भार थप्दै लगेको बताउनुभयो ।
उहाँका अनुसार सन् २०२४ को छ महिनामा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका छन् । अहिलेकै अनुपातमा यात्रुको सङ्ख्या बढ्दै गए यस वर्ष करिब ९५ लाख यात्रुले हवाई सेवा लिने देखिएको छ ।
चाडबाड र दोस्रो पर्यटकीय सिजन आउन लागेकाले हवाई यात्रुको सङ्ख्या बढ्दै जाने हुँदा यात्रुको हिसाबले यो वर्ष नयाँ रेकर्ड कायम हुन सक्ने उहाँको भनाई छ ।
उडान चहलपहलले एकातिर विमानस्थल साँघुरो हुँदै गएको छ भने अर्कोतर्फ वार्षिक १० लाखभन्दा बढीले हवाई यात्रुको सङ्ख्या बढ्दै जाँदा जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने उडान सुरक्षा तथा विमानस्थलको सुरक्षामा समेत भार थप्दै लगेको उहाँले बताउनुभयो ।
प्राधिकरणका अनुसार यस वर्षको छ महिनामा अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरिसकेका छन् । पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ७६८ उडान अवतरण भएका छन् ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ३० वायुसेवा कम्पनी र आन्तरिकतर्फ १२ वटा हेलिकोप्टर कम्पनीसहित नौ वटा वायुसेवा कम्पनीका जहाजले हवाई सेवा दिँदै आएको प्राधिकरणले जनाएको छ । आजको गोरखापत्रमा खबर छ ।