
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐ २ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग बिहीन भएको छ ।
रामग्राम नगरपालिका झरही खोला नजिकै रहेकोे हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताए ।
सटर भाडामा बस्नको लागि नगरपालिकाका प्रमुखसँग आग्रह गरेपनि नदिएपछि आफूले जम्मा गरेको रकम एक महिना पछि फिर्ता लिएँको उनले बताए ।
चितनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजारको भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको बताइएको छ ।
भाडामा नदिँदा निर्माणाधिन भवन प्रयोग बिहीन भएको उनको भनाइ छ । वर्षातका समयमा हाटबजार लगाउन आउने व्यपारीलाई वर्षात र घामबाट सुरक्षित तथा बजार व्यवस्थितको सहरी विकास तथा भवन निर्माण विभाग चितवनले भवन निर्माण गरेको हो ।
विभागले सात करोड लागतमा एक सय बढी सटर निर्माण गरेको सव ईन्जिनियर वीरेन्द्र मण्डलले बताए । उनका अनुसार बलक, शौचालय, सेनेटरी र वाइरिङको काम गर्न बाँकी रहेकोले प्रयोग विहीन छ ।
विभागले निर्माण गरेको कोठा भाडामा दिनका लागि रामग्राम नगरपालिकाले चार पटक सूचना प्रकाश गरेपनि भाडामा लिने व्यक्ति अहिलेसम्म सम्पर्कमा नआएको नगर प्रमुख धनपत यादवले बताए ।