खोटाङ, भदौ ४ :

खोटाङको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणको छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले सोही दिन परीक्षण उडानको शुभारम्भ समेत गर्नुभएको थियो ।

समिट एयरको नाइन एन-एएम्जी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई उहाँले लामीडाँडा विमानस्थलमा नियमित उडान भराउनका लागि प्राधिकरणसँग छलफल भइरहेको जानकारी दिनुभएको थियो । तर, विमानस्थलमा परीक्षण उडान भरेपछि अहिलेसम्म एकपटक पनि विमान उडान तथा अवतरण भएको छैन ।

वि.सं २०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको विमानस्थलको टनिङ प्याडमा दायाँबायाँ २८-२८ मिटर कालोपत्र गरिएको गरिएको छ । पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थल कालोपत्र गर्ने जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्सन प्रालिले कालोपत्र गरेको हो ।

जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई सेवा दिने उद्देश्यले निर्माण गरिएको विमानस्थल यसअघि जिल्लाको निकै व्यस्त रहने विमानस्थलमा पर्ने गर्दथ्यो । स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर २०२६ सालदेखि निर्माण सुरु गरेको विमानस्थल दुई वर्षपछि २०२८ सालबाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याइएको थियो । 

४८ वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको विमानस्थलमा कालोपत्र गरिएसँगै नियमित उडान बन्द हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । कालोपत्र गरिएको विमानस्थलमा नियमित उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकप्टर चार्टर गरेर अन्यत्र उपचारमा लानुपर्ने बाध्यताले स्थानीय बासिन्दा समस्यामा परेका हुन् ।

तीन जिल्लाका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने भक्तजन एवं पर्यटकले सेवा लिँदै आएको विमानस्थलको उडान कटौती गरेर राज्यले आफूहरूमाथि ठूलो अन्याय गरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले गुनासो गर्नुभयो । राज्यको ठूलो लगानीमा कालोपत्र गरिएको विमानस्थल पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैले पनि चासो नदिएको उहाँको भनाई छ ।

लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत उठाएर अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् । राज्यकोषको लगानीमा कालोपत्र गरिएको विमानस्थल उपयोगविहीन भएपछि सरकारको आलोचना हुँदै आएको छ ।

विमानस्थलमा उडान कटौती हुनुको कारण पत्ता लगाएर नियमित उडान भर्नेगरी पहल भइरहेको सांसद रामकुमार राई ‘पासाङ’ले बताउनुभयो ।