
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने देशहरूसमाथि प्रतिशोधात्मक कर लगाउने चेतावनी दिएका छन्। उनले डिजिटल करसम्बन्धी आदेशमा छिट्टै हस्ताक्षर गर्ने समेत बताए ।
ह्वाइट हाउसले केही समय पहिले जारी गरेको तथ्यपुस्तिकामा भनिएको थियो कि क्यानडा र फ्रान्सजस्ता देशहरूले डिजिटल करको माध्यमबाट अमेरिकी कम्पनीहरूबाट प्रति वर्ष ५० करोड अमेरिकी डलरभन्दा बढी कर सङ्कलन गर्दैछन्।
यी गैर–पारस्परिक करहरूले अमेरिकी व्यवसायहरूलाई प्रति वर्ष दुई अर्ब डलरभन्दा बढी अतिरिक्त खर्च पुर्याएको उल्लेख गरिएको छ।
पछिल्ला वर्षहरूमा धेरै युरोपेली देशहरूले गुगल, अमेजन, एप्पल र मेटाजस्ता ठूला प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने दबाब दिएका छन्, जसको संयुक्त राज्य अमेरिकाले कडा विरोध गरेको छ।
ट्रम्पको पहिलो कार्यकालको समयमा, उनले यी कर उपायहरूले अमेरिकी व्यवसायहरूलाई अनुचित रूपमा असर पुर्याएको आरोप लगाएका थिए र यसबारे ३०१ वटा अनुसन्धान सुरु गरेका थिए।
हालै, जो बाइडनको कार्यकालका दौरान, संयुक्त राज्य अमेरिका र केही युरोपेली देशहरू (जस्तै अस्ट्रिया, बेलायत, फ्रान्स, इटाली र स्पेन) बीच डिजिटल सेवा करको विवादको समाधानको लागि सम्झौता भएको थियो, र आर्थिक सहयोग र विकास सङ्गठन (ओइसिडी) को ढाँचा अन्तर्गत यसको समाधानका लागि सहमति जनाइएको थियो।