काठमाडौँ, फागुन १३ :

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।  

सोमबारको युरोपेली बैठकलाई उद्धृत गर्दै उनले यदि युरोपेली देशहरूबीच मतभेद भयो भने त्यो दुःखी परिवारजस्तो हुने बताएका छन् । 

युक्रेनी अधिकारीका अनुसार नेताहरूले बैठकमा आफ्नो आगामी रणनीतिबारे छलफल गर्नेछन् भने जेलेन्स्कीले युक्रेनको सुरक्षा प्रत्याभूतिको बारेमा पनि कुरा गर्नेछन् ।

जेलेन्स्कीले भने, “यो युद्ध हो, बच्चाको खेल होइन। हामीलाई साझेदारी चाहिएको छ, हामीलाई सहयोग चाहिएको छ, तर हामी हाम्रो स्वतन्त्रता गुमाउन सक्दैनौँ र हामी हाम्रो सम्मान गुमाउन सक्दैनौ ।”

जेलेन्स्कीले युद्ध अन्त्यका लागि कुनै पनि सम्झौताअन्तर्गत युक्रेनलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को सदस्यता दिन माग गर्दै आएका छन् तर वासिङ्टन नेतृत्वको गठबन्धनले प्रतिबद्धता जनाउन आनाकानी गर्दै आएको छ ।

“यदि युक्रेनमा शान्ति स्थापना हुन्छ र यसका लागि वास्तवमै मेरो पद छोड्न आवश्यक छ भने, म पद छोड्न तयार छु”, जेलेन्स्कीले किएभमा पत्रकार सम्मेलनमा भनेका छन्, “म यसलाई नाटोको सदस्यताका लागि त्याग गर्न सक्छु।”

उनले युक्रेनको स्रोतसाधनमा सम्झौताका लागि अमेरिकासँग छलफल गर्न पनि आफू तयार रहेको पनि बताएका छन् ।

जेलेन्स्कीले सोमबार रुसको आक्रमणको तेस्रो वार्षिकीमा किएभमा आयोजित शिखर सम्मेलनमा भेला भएका युरोपेली नेताहरूको बीचमा यस वर्ष ‘वास्तविक, दीर्घकालीन शान्ति’ को आह्वान पनि गरेका छन् ।

रुसले आफ्नो हितलाई ‘उपयुक्त’ बनाउने सम्झौतामा पुग्न सकेमा मात्र आक्रमण रोक्ने बताएको छ भने युरोपमाथि लडाइँलाई लम्ब्याउन चाहेको आरोप लगाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सन् २०२२ फेब्रुअरीमा ‘विशेष सैन्य अभियान’ सुरु गर्ने निर्णयले दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो द्वन्द्व सुरु गरेको थियो ।

दुवै पक्षका दशौँ हजार सैनिक र युक्रेनी नागरिक मारिएका छन् । देशको दक्षिण र पूर्वका सहरहरू ध्वस्त भएका छन् र लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

युरोपेली आयोग प्रमुख उर्सुला भोन डेर लेयनले पनि अमेरिकासँग द्वन्द्व कसरी अन्त्य गर्ने भन्ने विषयमा वार्ता सुरु भए पनि पुटिन पछि हट्ने सम्भावना नरहेको चेतावनी दिइन् । 

मध्यस्थकर्तालाई सम्झौता गर्न सहयोग गर्ने प्रस्ताव गर्नुभएका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले शिखर सम्मेलनमा ‘युक्रेनको क्षेत्रीय अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता’ लाई दृढतापूर्वक समर्थन गरेको र वार्तामा दुवै पक्षको ‘निष्पक्ष’ प्रतिनिधित्व गर्नुपर्ने बताएका छन् ।