काठमाडौं, फागुन १५ :

थाइल्यान्डको बैङ्ककमा बुधबार बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो ।

१७ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा जनाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बसको ‘ब्रेक फेल’ भएका कारण दुर्घटना भएको हो ।

त्यस बसमा ४९ जना यात्रारत थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार थाइल्यान्डमा सबैभन्दा बढी सवारीसाधन दुर्घटना हुने गरेको छ ।

यहाँ हरेक वर्ष लगभग २० हजार व्यक्तिको सवारीसाधन दुर्घटनामा मृत्यु हुने गरेको छ । पुरानो र असुरक्षित सवारीसाधन र चालकको लापरबाही दुर्घटनाको प्रमुख कारक मानिन्छ ।

गत अक्टोबरमा बैङ्ककको उपनगरमा एउटा विद्यालयका विद्यार्थी बोकेको बसमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको थियो ।