म्याग्दी, भदौ ५ :

म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीलाई समस्या भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार- खिवाङ- शिख- चित्रे सडक अन्तर्गत अन्नपूर्ण- ५ घोप्टेखर्कमा पहिरोले सडक भत्काएपछि गत साउनदेखि घोडेपानीमा यातायात अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध हुँदा घुम्न जाने पर्यटक र स्थानीयवासीलाई आवतजावतका साथै होटल व्यवसायीलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको घोडेपानीका होटल व्यवसायी तारा पुनले बताउनुभयो ।

पर्यटकीय याम सुरु हुन लागेपनि होटलका लागि आवश्यक तरकारी, खाद्यान्नलगायत सामग्री ढुवानी गर्न नपाएको उहाँले बताउनुभयो ।

घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकल बाहेक जिप, बस, ट्रक, ट्रयाक्टर वारपार गर्न सकेका छैनन् । पोखरेबगर- चित्रे- घोडेपानी सडक अन्तर्गत लुलीया र हल्लेखर्कको घुम्तीमा पनि सडक भासिएपछि बस र ट्रक सञ्चालन हुन सकेका छैनन्। 

वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सोभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका- ६ का वडाध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ- कुटुका- पेरीभारानी- घोडेपानी जोड्ने वैकल्पिक सडक स्तरोन्नतिको तयारी गरेको जानकारी दिनुभयो ।