
डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्यु फिट काठ बरामद गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७९- ८० देखि २०८०- ८१ सम्मको दुई वर्षको अवधिमा सो परिमाणको काठ बरामद गरेको हो ।
डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले दुई आर्थिक वर्षमा अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको जानकारी दिनुभएको हो।
दुई आर्थिक वर्षमा वनपैदावार तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका दुई सय २६ जनालाई पक्राउ गरेर मुद्दा अगाडि बढाएको उहाँले बताउनुभयो ।
कार्यालयले अवैध ढङ्गले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्यूफिट बराबरको दाउरा पनि बरामद गरेको छ ।
डिभिजन वन कार्यालय पर्साले काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल पनि बरामद छ । कार्यालयले एक सय ४३ थान साइकल, ६ थान ट्याक्टर, ६ थान टायरगाडा, ४२ थान बन्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरेको जनाएको छ ।