
अविरल वर्षका कारण बेनी- दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका- ४ र मङ्गला गाउँपालिका- २ को सिमाना फापरखेतमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको हो ।
अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिम लगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि जाने विद्यार्थीलाई समस्या भएको छ ।
धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका- ६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।
पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ का रूपमा लिने गरिएको सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गरेको छ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।
डेढ दशकदेखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँ पटक मर्मत गरिए पनि सो सडकखण्डको फापरखेतमा झन्झन् पहिरो खसेर समस्या बन्दै गएको वडाध्यक्ष रोकाले बताउनुभयो।