
दुई दिन लगातार असिनापानीसँगै आएको हुरीबतासले सुनसरीका अधिकांश किसानको केराखेतीमा क्षति पुगेकाे छ ।
गत आइतबार राति र सोमबार साँझको हुरीबतासले खेतमा लगाएको केराको बोट ढलेर ठूलो क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ ।
ऋण लिएर गरेको केराखेतीमा एकैपटक यस्तो ठूलो हावाहुरी आएकाले लाखौँको लगानी डुबाउनेगरी क्षति भएको स्थानीय किसानकाे गुनासो छ ।
सुनसरी सदरमुकाम इनरूवासहित दक्षिणवर्ती क्षेत्रमा पटक- पटक आएको ठूलो हुरीले केराखेतीसहित गहुँ र मकैखेतीमा पनि क्षति भएको स्थानीय किसानले बताएका छन् । इनरूवासहित, गढी गाउँपालिका, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको स्थानीय किसान जब्बर मियाँले बताए ।
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-२ का जब्बार मियाँले भोक्राहा र इनरूवा- ८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गरेका छन् ।
करिब ५० लाखको लागतमा जनमजदुर, खाद्यमल, बीउको अभावलगायत समस्याको बाबजुद केराखेती गरेका थिए । नगदेबाली केराखेतीबाट राम्रो आम्दानी हुनेमा मियाँ निश्चिन्त थिए ।
मियाँ जस्तै खुर्सीद अन्सारीले दुई बिघामा केराखेती गरेका छन् । नौ लाख लागतमा उनले केराखेती गरेका थिए । उनि पनि लगानीसहित नाफा लिने विश्वासका साथ केराको रेखदेख गर्दै थिए ।
केही दिनअघिको हुरीबतासले केराखेतीमा क्षति पुर्यायाँदा उनीहरुनिरास भएका हुन्।
केराखेतीमा गरिएको लगानीअनुसार प्रतिफल आउने निश्चिन्त भए पनि असिनापानीसँगै आएको हावाहुरीले केराखेतीमा ठूलो क्षति भएको किसानहरुले बताएका छन् ।