कैलाली, फागुन २१ :

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ठूलो परिमाणमा कारोबार हुने सुनचाँदी व्यवसायलाई व्यवस्थित छुट्टै ऐन आवश्यक रहेको बताएका छन् ।

कैलालीमा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखे । ‘मैले प्रधानमन्त्रीको रुपमा यो व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल चलाउन सुरु गरेको थिएँ । छुट्टै ऐनविना यति ठूलो व्यवसायलाई व्यवस्थित गर्न सकिँदैन,’ उनले भने, ‘यसबारेमा धेरै पहिलेदेखि देशभरिका व्यवसायले आवाज उठाउँदै आउनुभएको छ । यो माग जायज छ ।’

काठमाडौंमा मात्रै केन्द्रित रहेको सुनचाँदीको थोक कारोबार कम्तीमा प्रदेश राजधानीसम्म गरिनुपर्छ भन्ने व्यवसायीको माग जाजय रहेको र यो संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप हुने उल्लेख गर्दै यसका लागि पहल अघि बढाउने प्रतिबद्धता पनि जनाए । यसमा मदिराजस्तो विलासिता कर लगाउने कानुनी व्यवस्था सही नभएकाले यसलाई हटाउन पनि कानुन नै आवश्यक रहेको स्पष्ट पारे ।

आफू प्रधानमन्त्री भएको बेलामा सुनचाँदीको परम्परागत व्यवसायलाई प्रवर्धन गर्न नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश गरिएको जानकारी गराउँदै यसको कार्यान्वयनका लागि व्यवसायीहरुले पनि आवाज उठाउन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आफ्नो पार्टीले पनि यसलाई सहयोग गर्ने बताए ।