काठमाडौँ, भदौ ६ :

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले हालसम्म दुई सय ५६ जना बालिकालाई रु पाँच हजार सहितको बैङ्क खाता उपहार दिएको जनाएको छ ।

गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चार वर्षमा २५६ जना बालिकाको बैङ्क खातामा रकम जम्मा गरिदिएको हो । 
 
आर्थिक वर्ष २०७७- ७८ देखि सुरु गरिएको उक्त कार्यक्रममार्फत गाउँपालिकामा जन्म लिने छोरीहरूको बैङ्क खातामा रकम जम्मा गर्न सुरु गरिएको थियो । 

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले  हालसम्म त्यसप्रकारका बैङ्क खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा भइसकेको जानकारी दिनुभयो ।

छोरीका नाममा हुने बैङ्क खाताको संरक्षक अभिभावक हुनेछन् । उक्त रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्न सहयोग पुगोस्  भन्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।