
कैलाली, भदौ ६ :
कैलालीमा भारी वर्षाका कारण मोहना र सहायक नदीहरुमा पानीको सतह बढेको छ ।
निरन्तर भइरहेको वर्षाका कारण नदीहरुमा पानीको सतह सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीहरुमा पानीको सतह बढेपछि तल्लो तटीय क्षेत्रका होचा भूभागमा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
जिल्लाको अधिकांश स्थानमा पछिल्लो छ घण्टामा भारी वर्षा मापन भएको विभागले जनाएको छ । बाढी आएपछि केही क्षेत्रमा डुबान भएको छ ।
गौरीगंगा नगरपालिका- ७, ९ स्थित महदेवा, कम्दा, भगवानपुर, शङ्करपुर र घोडाघोडी नगरपालिका- ९ मा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ ।