
हुम्लाको चङ्खेली गाउँपालिकामा बुधबार बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चङ्खेली- २ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरी सल्लामा दुर्घटना भएको हो ।
चालकसहित सात जना सवार जिपमा पाँच जना गम्भीर घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
दुर्घटनामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका- १३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्लको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो।
बाजुरा बुढीनन्दा नगरपालिका- ४ का सावरी चालक महेन्द्र विक्रम शाह र चङ्खेली- २ का मायादेवी शाही सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उद्वार गरी स्थानिय स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।