
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरुले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभामा उनले यस्तो धारणा राखेका हुन् । नेपाली जनताले परास्त गरिसकेका तत्त्वहरुले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिए ।
अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो नहुने बताए ।
उनले कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने बताए । अध्यक्ष दाहालले यथास्थितिमा मुलुक चल्न नसक्ने र अब नयाँ आन्दोलन आवश्यक रहेकाले त्यसको तयारीका लागि सबैभन्दा बढी उत्पीडित र अपहेलित बनाइएका वर्ग समुदायको घरमा पुग्नुपर्छ भनेर नै गम्भीर आत्मसमीक्षासहित आफूहरु जनताको बीचमा आएको स्पष्ट गरे ।
अध्यक्ष दाहालले पार्टीले अघि बढाएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपाललाई राज्यको मूल प्रवाहमा जोड्दै नयाँ राष्ट्रिय एकता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग नियमित गरेपछि योजना अघि बढेको दाबी गरे । यो मार्ग तराई-मधेसको जीवनरेखा बन्ने र यसले दक्षिण नेपालको रुपान्तरणमा महत्त्वपूर्ण योगदान गर्ने उनले विश्वास गरे ।
बालेनको पुर्ख्यौली घरमा पुगेर प्रचण्डले भने- सबैले मिलेर व्यवस्था जोगाउनुपर्छ
महोत्तरीको विकास हिजोदेखि नै प्राथमिकतामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जलेश्वरमा सुक्खा बन्दरगाह, सिँचाइको व्यवस्था, भारतीय बाँधले पारेको असर न्यूनीकरण, मिटरब्याजपीडितका समस्या समाधान, शैक्षिक गुणस्तर वृद्धि, सबै ठाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार, मणिपाल कलेजले ओगटेको जग्गाको उपयोग आदिलाई थप प्राथमिकताका साथ बढाउने प्रतिबद्धता व्यक्त गरे ।
पछिल्लो समय माओवादी जनताको बीचमा कम आएकाले यसको फाइदा उठाएर मधेसवादी दलहरुले मधेसका जनतामा भ्रम सिर्जना गरेको उल्लेख गर्दै उनले अब मधेसवादी दलहरु अवसरवादी बनेको बताए । उनीहरू मधेसी जनताको पक्षमा भए संघीयताको पक्षमा माओवादीले सुरु गरेको अभियानमा जोडिन पनि आग्रह पनि गरे ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्ध र मधेस आन्दोलनका कारण मधेसी जनताले पहिचान, संघीयता, समावेशी, समानुपातिक अधिकार पाएको उल्लेख गर्दै मधेसवादी दल विभाजन र नातावाद कृपावादले अब मधेसको नेतृत्व गर्न सक्ने अवस्था नरहेकाले परिवर्तनको रक्षा गर्न माओवादीलाई बलियो बनाउने बेला आएको बताए ।
उपमहासचिव गिरिराजमणि पोख्रेलले सीमा क्षेत्रका जनताले राष्ट्रियताको रक्षा गरे पनि राज्यले सीमा क्षेत्रको विकास नदिएको उल्लेख गर्दै पार्टीले जनताको जीवन रुपान्तरण गर्ने कार्यक्रम अघि बढाउने बताए ।
अर्का उपमहासचिव जनार्दन शर्माले पार्टी रुपान्तरणसहित जनताको बीचमा फर्केको उल्लेख गर्दै जनताको जीवन रुपान्तरण नै पार्टीको अबको अभिष्ट भएको बताए ।
पार्टी उपमहासचिव एवं मधेस प्रदेश इन्चार्ज मातृका यादवले पार्टीले सत्तामुखी होइन जनतामुखी हुने नीति लिएपछि मधेसी जनतामा आकर्षण फर्कन थालेको उल्लेख गर्दै अब मधेसलाई लाल मधेस बनाउने उद्घोष गरे ।