
एमाले मोरङको दसौं अधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट समूहको प्यानल नै विजयी भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार पराजित भएका छन् ।
शुक्रबार साँझ सार्वजनिक मत परिणामअनुसार अजम्बर राईले ४ सय ४६ मत ल्याउँदै अध्यक्षमा विजयी भए । उनका प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझाले ४ सय ७ मत ल्याए ।
जिल्ला अधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व विनोद ढकालले गरेका थिए । उनी पक्षका सागर थापा ४ सय २२ मत ल्याई उपाध्यक्षमा विजयी भए । थापाका प्रतिस्पर्धी संस्थापनकी शान्तिकुमारी लिम्बूले ३ सय ९१ मत पाइन् ।
सचिवमा विजयी भएका सोमराज थापाले ४ सय ६२ मत ल्याउँदा संस्थापनका रविन थापाले ३ सय ६८ मत पाए । उपसचिवमा सन्तोष वान्तवाले ४ सय ९० र उषा झाले ४ सय १८ मत ल्याउँदा संस्थापन पक्षका इर्जालाल राजवंशीले ३ सय ११ र शिल्पा कार्कीले ४ सय ५ मत पाए ।
अधिवेशनमा कुल ८ सय ८८ मत खसेको थियो ।