
रूससँगको युद्ध अन्त्यका लागि अमेरिकाले राखेको मागप्रति युक्रेन सकारात्मक देखिएको छ। अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीले यस्तो बताएका हुन् ।
रुससँग तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकी अधिकारीहरूबीच मंगलबार साउदी अरबमा महत्त्वपूर्ण वार्ता हुँदैछ । युक्रेनी राष्ट्रपति भ्लोदिमर जेलेन्स्की भने सोमबार नै साउदी अरब पुग्दैछन् ।
यसअघि वार्ताका लागि अमेरिका पुगेका जेलेन्स्कीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँग चर्काचर्की परेको थियो । ह्वाइ हाउसको ओभल अफिसमा भएको चर्काचर्कीपछि दुई देशबीच हुने भनिएको खनिज सम्झौता हुन सकेको थिएन ।
त्यसयता राष्ट्रपति ट्रम्पले युक्रेनमाथि दबाब बढाउँदै गएका छन् । तर, जेलेन्स्कीले भनेजस्तो युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि भने ट्रम्प तयार भएका छैनन् । युक्रेनलाई दबाब दिनकै लागि ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्यलगायत सहायता रोक्का गरिसकेको छ ।