नुवाकोट, भदौ ७ :

सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी- रसुवागढी सडक खण्ड बन्द भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका- ८ स्थित ठूलो खोला नजिक सडकमा खसेको ठूलो ढुङ्गासहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’ को सडक पूर्ण रूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जेजङ्ग कार्कीले जानकारी दिनुभयो ।

देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही रुटको आसपासमा वैकल्पिक सडक नभएको हुँदा यातायातका साधन आवतजावत गर्न समस्या भएको जनाइएको छ ।

धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढी हुँदै केरुङ जानुपर्ने सवारी साधन गल्छीबाट काठमाडौँ नै फर्केर टोखा- छहरे सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

बुधबार राति खसेको पहिरोसँगैको ठूलो ढुङ्गा हटाउन ‘ब्रेकर’ लगाउनुपर्ने भएकाले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको गल्छी- रसुवागढी सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरो पन्छाउन आज बिहानदेखि ठूला उपकरणसहितको जनशक्ति परिचालन गरिएको छ ।