चितवन, भदौ ७ :

मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । 

मनहरी गाउँपालिका- ६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो ।

मरेको बाघ बुढो र दुब्लो रहेकोले निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्ने उहाँले बताउनुभयो । बाघको शव परीक्षणका लागि राष्ट्रिय निकुञ्ज लगिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।