काठमाडौं, फागुन २८ :

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रबाट बाहिर निस्कन गरेको संघर्ष, काठमाडौंको सडकमै बस्नुपरेको अवस्थादेखि कप्तान बन्दासम्मको कथामा बनेको चलचित्र ‘अञ्जिला’को काठमाडौंमा भव्य रेड कार्पेट प्रिमियर गरिएको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित प्रिमियरमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरू, पूर्वआईजीपी दुर्जकुमार राई, पूर्व पुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राई, अभिनेत्रीहरू केकी अधिकारी र अलिशा राई, पत्रकारहरू, निर्देशकहरू ज्ञानेन्द्र देउजा, नवल नेपाललगायत चलचित्र टिम, चलचित्रकर्मी, राष्ट्रिय खेलाडी तथा शुभचिन्तकको उत्साहजनक उपस्थिति थियो ।

ललितपुरस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमाजमा भव्य सजावट र रेड कार्पेटले सजिएको प्रिमियरमा चलचित्रका तर्फबाट अभिनेता दयाहाङ राई, निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल, निर्देशक मिलन चाम्सको उपस्थिति थियो । यद्यपि, चलचित्रकी कथाकी पात्र तथा प्रमुख अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्य व्यस्तताका कारण उपस्थित रहेनन् ।

फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्रको प्रिमियरपछि एन्जिलाले पाइलैपिच्छे समस्या र कठिनाइलाई पार गर्दै कप्तानसम्मको यात्रा तय गरेको कथा हेर्दा लगभग सबै दर्शक भावुक बने । खेल खेले बिग्रिन्छ भन्ने घर र समाजलाई छिचोल्दै कप्तानसम्मको यात्रा गर्नु एउटा ठुलो युद्ध जितेको भन्दा पनि कठिन रहेको र त्यो जीवनीलाई उत्कृष्ट रूपमा चलचित्रमा उतारेको भन्दै निर्देशक मिलन चाम्सको व्यापक प्रशंसा गरिएको छ । चलचित्र हलबाट निस्किँदै गर्दा प्रायः दर्शक रोइरहेका देखिन्थे भने चलचित्र हेरेर कहिल्यै नरुनेहरूले समेत आफूलाई सम्हाल्न नसकेको बताए ।

आईजीपी अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनसिप मात्र देखिरहेको तर यो चलचित्रले एन्जिला हुनुको वास्तविकता देखाएको बताए । उनले भने, ‘हामीले सधैँ एन्जिलाको खेल देख्यौँ, उनको क्याप्टेनसिप देखेका थियौँ तर, एन्जिला हुनुमा उनले कति संघर्ष गरेको रहेछ, कति पसिना र आँसु बगेको रहेछ भन्ने यो चलचित्रले देखायो । एपीएफ क्लबले एन्जिलालाई चिनायौँ, एन्जिलाले देशलाई चिनाइन् । यो चलचित्र नयाँ पिँढीको लागि प्रेरणा हुन्छ ।’

पूर्वकप्तान गणेश थापाले चलचित्र हेर्दा आफू ३/४ पटक रोएको बताए । ‘एन्जिलाले यति धेरै संघर्ष गरेर आएको रहेछ । एन्जिलालगायत हामीले ती खेलाडीहरूलाई ध्यान दिन सकेनौँ भन्ने कुराको आत्मग्लानि भएको छ,’ एन्फाका पूर्वअध्यक्षसमेत रहेका थापाले भने, ‘हाम्रो पालामै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा खेल्ने खेलाडीहरूलाई रोजगारीको ग्यारेन्टीको सुरुवात भएको हो । त्यसैको प्रतिफल आज महिला फुटबल खेलाडीको प्रगति भइरहेको छ ।’ थापाले पूर्वसशस्त्र प्रहरी उपरीक्षक तथा यस चलचित्रका निर्माता एवं कलाकार प्रेमकुमार श्रेष्ठको प्रशंसा गर्दै खेल र खेलाडीलाई सधैँ माया गर्ने व्यक्तिको रूपमा व्याख्या गरे ।

पत्रकार प्रकाश सुवेदीले बायोपिकमा चलचित्र बनाउन जति चुनौतीपूर्ण छ, त्यो चलचित्रलाई कमर्सियल बनाउन त्यति नै गाह्रो रहेको र ‘अञ्जिला’मा त्यो दुवै रहेको प्रतिक्रिया दिए । ‘यो चलचित्रमा जीवन त छँदै छ, यो चलचित्रलाई व्यावसायिक बनाउन निर्देशकले भरपुर मिहिनेत गर्नुभएको छ । मैले यो भन्दा पहिले भारतीय कलाकार आमिर खानको लगान हेरेको थिएँ । त्यो चलचित्रले मलाई एकाग्र भएर हेर्न बाध्य तुल्याएको थियो र आज अञ्जिला हेर्दा त्यही झझल्को आयो,’ सुवेदीले भने ।

चलचित्र हेरेपश्चात् भावुक हुँदै हलबाट निस्किएकी अभिनेत्री केकी अधिकारीले यो चलचित्रले आफ्नो मन छेडेर गएको जनाइन् । ‘हाम्रो समाजमा महिलाहरू जुनसुकै क्षेत्रमा छन् भने पनि संघर्षपूर्ण यात्रा पार गरेर आएको हुन्छ । त्यसमाथि पनि महिलाले खेलकुदमा यो किसिमको एउटा सफलता पाउनुको पछाडिको संघर्ष के कस्तो थियो भन्ने विषय चलचित्रमार्फत आएको छ । चलचित्र एकदमै सशक्त माध्यम हो । एन्जिलाको संघर्षको कथा नपढेको नसुनेको होइन तर, चलचित्रमार्फत आउँदा यसरी मन छेडेर गएको छ कि निर्देशकले सुन्दर रूपमा एन्जिलाको वास्तविक जीवनलाई सामाजिक मूल्यमान्यता अनुसार पर्दामा उतार्नुभएको छ,’ अधिकारीको प्रतिक्रिया छ ।

चलचित्र निर्देशक नवल नेपालले छोराछोरीहरूले आफ्ना मातापितालाई सम्बोधन गर्ने चलचित्र रहेको प्रतिक्रिया दिए । अर्का निर्देशक ज्ञानेन्द्र देउजाले नेपालमा नेपाली खेलाडीहरूले यति धेरै दु:ख गर्दा पनि राज्यको चेतना र लगानी किन छैन ? भन्दै प्रश्न उठाए । उनले एन्जिलाको कथासँगै राज्यको दृष्टिकोणले पनि भावुक बनाएको बताए ।

अभिनेत्री अलिशा राईले यो चलचित्रले जीवन जिउन पनि सिकाउने बताइन् । अभिनेता प्रशान्त ताम्राकारले गाउँ ठाउँका सबै नेपाली चेलीहरूको कथा पनि एन्जिलाको जस्तै संघर्षशील रहेको बताए । ‘म धेरैपटक भक्कानिएँ । एन्जिलाले गरेका ती संघर्षहरू हेर्दा निकै गाह्रो महसुस भयो । एन्जिलाले आफैंले अभिनय गरेको कारणले पनि होला त्यो अभिनय जस्तो नभएर वास्तविक नै देखिएको छ,’ ताम्राकारले भने । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली दर्शकले चाहेको जस्तो चलचित्र रहेको बताए ।

निर्देशक मिलन चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू अवाक् भएको प्रतिक्रिया दिँदै अब दर्शकको पालो रहेको जनाए । ‘मैले एन्जिलालाई तिमीले अभिनय नगर, जीवनमा जे भोगेको छौ त्यति नै देखाऊ भनेको थिएँ । म आफैंले पनि हरेकपटक चलचित्र हेर्दा भावुक हुने गरेको छु । धेरै ठाउँमा प्रिमियर भयो, सबै ठाउँमा प्रशंसा भएको छ । अब दर्शकको पालो आएको छ,’ चाम्सले भने । चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । उनले यसअघि बायोपिकहरू ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गरेका थिए ।

निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले राम्रो सोच लिएर काम गरेपछि सबैले साथ दिनुहुने रहेछ भन्ने प्रमाणित भएको बताए । निर्देशक चाम्सको प्रशंसा गर्दै उनले भने, ‘मैले योजना सुनाएपछि उहाँले म तपाईंलाई सहयोग गर्छु भन्नुभयो । यो चलचित्र बनाएर एन्जिलाको घर बनाउने कुरा सुनेपछि दयाहाङ राईलगायत कलाकारहरूले पनि सबैले अभिनयमा मात्र होइन, अन्य सहयोग पनि गर्ने वचन दिनुभयो ।’

यसअघि यस चलचित्रको हङकङ, कोरिया र बेलायत तथा नेपालको धरानमा समेत प्रिमियर भएको थियो । यसमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनील थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङको प्रमुख अभिनय छ ।

चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् । सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माता विनोद अग्रवाल हुन्‌ भने टुबेन्द्र लिम्बू र राजेश बगडिया सह-निर्माता हुन् ।