काठमाडौँ, भदौ ७ :

दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ परेका छन्। 

आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । 

प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेको बताउनुभयो । सुतली बम चर्को आवाजमा पड्केको थियो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १५ का अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बयान दिएका छन् । 

यस विषयमा थप अनुसन्धान भइरहेको तिमल्सिनाले जानकारी दिनुभयो ।