
बुधबार हुम्लाको चङ्खेलीमा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।
मुगुको छायाँनाथरारा नगरपालिका- १३ का २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिनुभयो ।
बुधबार बिहान चङ्खेली गाउँपालिका- २ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु खण्डको गौरी सल्लामा दुर्घटना भएको थियो ।
मल्लका दाई नाता पर्ने रोशन शाहीले रमेशले जीप किनेको चार- पाँच महिना मात्रै भएको थियो । सानै उमेरमा बुबा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जीप किनेका थिए । रमेशका आमा, श्रीमती र दुई छोराछोरी छन् । उनी घरको एक्लो छोरा थिए ।
दुर्घटनामा गम्भीर भएका अन्य तीन जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ रारा नगरपालिका- १३ का ४० वर्षीय पृथ्वी रावतको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
अन्य घाइतेको अवस्था भने सामान्य रहेकाले चङ्खेली गाउँपालिकामा रहेको दार्मा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।